काठमाडौंः नक्कली भारतीय रुपैयाँको कारोबारबाट आर्जन गरेको सम्पत्ति व्यापारी युनुस अन्सारीले नेशनल टेलिभिजनमा लगाएको निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले निकालेको छ । सोही अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ ।
गत शुक्रबार नेशनल टेलिभिजन प्रालिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
अन्सारीले भारतीय जाली नोटसमेतको कसुर गरी प्राप्त गैरकानुनी स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ । त्यस्तै, उनकी श्रीमती सालमा खातुनसहित बाराका प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको छ ।
जेलबाट छुटेलगत्तै अन्सारीलाई नियन्त्रणमा लिएर सिआइबीले अनुसन्धान गरेको थियो । उनको र टेलिभिजनको खातामा आएको पैसाको विश्लेषण गरी सिआइबीले अपराधिक कामबाट उनले सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो । उनी पक्राउ परेसँगै उनको टेलिभिजन भने बन्द भइसकेको छ । आइतबार जिल्ला अदालतमा उनको थुनछेक बहस हुँदैछ ।
अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । अन्सारीमाथि २०६७ सालमा जेलभित्रै गोली प्रहार समेत भएको थियो।
