काठमाडौं: नेपालको कालापानी क्षेत्रसँग जोडिएको गुंजी गाउँको ग्राम प्रधानमा पूर्वआइपिएस अफिसर बिमला गुंज्याल निर्वाचित भएकी छिन्। चीनसँगको समेत सीमा जोडिएको यो संवेदनशील क्षेत्रमा पूर्वआइपिएस अफिसरलाई रणनीतिक रुपमा निर्विरोध गरिएको बताइएको छ।
ग्राम प्रधानका लागि चार जनाले मनोनयन दिएकोमा बिमला पछि निर्वारोध निर्वाचित भएकी हुन्। जहाँ स्थानीयले उनको भव्य स्वागत गरेका छन्। पूर्वआइपिएस अफिसर आफ्नो गाउँको ग्राम प्रधान बन्नु ठूलो उपलब्धि भएको स्थानीयले बताएका छन्। सो क्षेत्रका बिधायक हरिश धामीले पनि बिमलालाई बधाई दिएका छन्। एक प्रतिष्ठित आइपिएस अफिसर सो गाउँको ग्राम प्रधान हुनु निकै उत्साहजनक विषय भएको उनको टिप्पणी छ।आइजिपी पदबाट अवकाश पाएकी उनलाई सामरिक सुरक्षाको दृष्टिकोणले समेत सो क्षेत्रको जिम्मेवारी दिएको आकलन गरिएको छ।
उत्तराखंडको इन्टेलिजेन्स र कारागार विभागको आइजी भएर काम गरेकी उनी गत वर्ष मात्र अवकाश पाएकी हुन्। बिमला उत्तराखंडकी चर्चित आइपिएस अफिसर हुन्।

बिधायक हरिश धामीको बधाई
समुन्द्री सतहबाट ३५०० मिटरको उचाईमा रहेको गुंजी गाउँ नेपाल, भारत र चीनबिचको रणनीतिक ठाउँ हो। सो गाउँ नेपालले समेत दाबी गर्दै आएको छ। तर, लामो समयदेखि भारतले नै शासन गर्दै आएको छ। सो क्षेत्र हुँदै भारतीयहरु कैलाश मानसरोवरको समेत यात्रा गर्दछन्। त्यसलाई भारतले चीनसँगको व्यापारिक नाका बनाउने तयारी गरिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत १२ अक्टोबर २०२३ मा सो गाउँ पुगेको थिए। सो क्षेत्रको विकासमा भारतले लगानी गरिरहेको छ। जहाँ पूर्वआइपिएस अफिसर नै ग्राम प्रधान बनेपछि गुंजी गाउँको चर्चा अझै बढेको छ ।
