महेन्द्रनगर: बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु घटनाको अनुसन्धानका थप एक स्थानीय युवतीलाई पक्राउ गरेको छ । प्रहरीले पूजा भट्टलाई पक्राउ गरेको हो । उनले सम्झनालाई आत्महत्याका लागि उक्साएको आरोप पूजामाथि छ ।
एक साताअघि झुन्डिएको अवस्थामा सम्झनाको शव भेटिएको थियो। परिवार र केही साथीको यातनाका कारण उनको मृत्यु भएको भन्दै प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार यसअघि मृतक युवतीका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्ट पक्राउ परिसकेका छन् । मृतक युवतीको माइती पक्षको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी बोहराले बताए ।
मोबाइलमा फेला परेको अडियोमा पूजाले सम्झनालाई मारिदिन भनेर उक्साएको अडियो फेला परेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
