काठमाडौं: सरकारको प्रवक्तामा सञ्चार तथा सूचनामन्त्री जगदीश खरेललाई तोकिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो ।
त्यस्तै, बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको अधिकार सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई तोकेको छ । यसअघि ओली सरकारले ऐन ल्याएर जिल्ला प्रशासनमार्फत दर्ता र नवीकरण गर्ने निर्णय गरेपछि विवाद भएको थियो ।
बैठकले कार्यविभाजन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका तीन विभागलाई मन्त्रालय मातहत सारिएको छ। राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई गृह मन्त्रालय तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत सारिएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
बैठकले २३ र २४ भदौमा भएको आन्दोदनमा मृत्यु भएका व्यक्तिको परिवारलाई १० लाख सहायता र थप पाँच लाखका दरले काजकिरिया लगायत खर्च दिने निर्णय भएको छ ।
सुरक्षण मुद्रणसम्बन्त्रि नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, सहसचिव कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको छ।
