काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने बताएका छन् । बिहीबार (असोज २३) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले संसद् फर्काउने मागमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
“देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन,” ओलीले भने ।
उनले नेपाली कांग्रेस पनि सोही बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । समयमा नै दृढतापूर्वक कदम चाल्नुपर्ने उनले बताए ।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नभए मात्र संसद् पुनर्स्थापनाको माग गर्नुपर्ने सुनिएको भन्दै उनले त्यसलाई पर्खनु नपर्ने बताए ।
“संसद् विघटन असंवैधानिक, गलत छ । गैरकानुनी छ । अलोकतान्त्रिक छ, देशको हितको विरुद्धमा छ । हामीलाई थाहा छैन र ? फागुन २१ पर्खनु परेको छैन,” उनले भने ।
