काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विघटित संसदमा प्रतिनिधित्व गरेका दलहरूको बैठक शीतलनिवासमा बोलाएको बैठकमा शीर्ष नेता अनुपस्थित भएका छन् । दोस्रो तहका नेता भने गएका छन् ।
फागुन २१ गते तोकिएको निर्वाचनका सम्बन्धमा छलफल गर्न राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल लगायत सहभागी छैनन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी छन्। नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षामान पुन सहभागी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी छन्।
त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेपाल मजदुर किसान पार्टीबाट सुनील प्रजापति सहभागी छन्।
निर्वाचनको माहोल बनाउन यो बैठक बसेको हो।
