काठमाडौंः नेपाल प्रहरीका अबको एक महिनापछि नेतृत्व परिवर्तन हुँदैछ । नयाँ आइजिपी चयनका लागि चार एआइजीबीच प्रतिस्पर्धा छ।
हालका आइजिपी चन्द्रकुबेर खापुङले २७ कात्तिकदेखि अवकाश पाउँदैछन्। उनको कार्यकाल एक महिनाभन्दा कम भएकाले दौडधुप सुरु भएको हो।
नयाँ आइजिपीको प्रतिस्पर्धामा दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र शिद्धिबिक्रम शाह छन्।
उनीहरुमध्ये कार्की पहिलो नम्बरमा रहेकाले उनलाई नै बलियो दाबेदार मानिएको छ। यद्यपी गृहमन्त्री ओमप्रकाश अर्यालले मनोज केसीलाई रुचाएकाले केसीले कार्कीलाई टक्कर दिने चर्चा प्रहरीमा छ।
हाल कार्की उपत्यका प्रहरी कार्यालय तथा केसी केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत छन्। अर्का एआइजीद्वय राजन अधिकारी र शिद्धिबिक्रम शाहको सम्भावना कम भएपनि उनीहरु समेत दौडधुपमा लागेका छन्।
उता प्रहरीमा रिक्त रहेका डिआइजीका चार पदमा भने तिहारपछि मात्र बढुवा हुने भएको छ । तिहारपछि थप एक पद रिक्त हुने भएकाले पाँच जनाको बढुवा गर्न लागिएको हो । रिक्त पदमा गुप्तचर टोलीका एक जना तथा ११२ को टोलीबाट १४ जना प्रतिस्पर्धामा छन्।
