काठमाडौं : मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नयाँ नेतृत्वका रूपमा डीआईजी गोविन्द थपलियाले कमाण्ड सम्हालेका छन्।
अनुभवी र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई बनाउने स्पष्ट प्रतिवद्धता जनाएका छन्।
२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकका रूपमा सेवा सुरु गरेका गरेका थपलियाले आफ्नो तीन दशकभन्दा बढीको सेवाकालमा संगठनका विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहट र धनुषाको प्रमुख, लागु औषध नियन्त्रण ब्यूरो प्रमुख, मानवश्रोत विकास विभागमा शाखा प्रमुखदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश समन्वय विभागमा उनले काम गरिसकेका छन्। लो प्रोफाइलमा बसेर उत्कृष्ट कार्यसम्पादन गर्न रुचाउने उनले लागु औषध नियन्त्रण क्षेत्रमा उल्लेख्य योगदान गरेका छन्।
थपलियाले प्रहरी संगठनभित्र आन्तरिक सुधार र कर्मचारी प्रेरणामा विशेष जोड दिँदै आएका छन्। मधेश प्रदेशमा बढ्दो सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै थपलियाले प्रहरीको उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन्।
जनकपुरधाममा कार्यभार सम्हाल्दै उनले भनेका छन्– ‘शान्ति, सुरक्षा र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनेछ। अपराधविरुद्ध शून्य सहिष्णुता अपनाइनेछ।’
उनको नेतृत्वशैली समन्वयकारी र व्यावहारिक मानिन्छ। उनी स्थानीय तह, नागरिक समाज र समुदाय प्रहरी साझेदारीलाई सुदृढ बनाउँदै नागरिकमैत्री प्रहरी सेवाको विस्तारमा विश्वास राख्छन्।
