काठमाडौं; जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धि गठन भएको जाँचबुझ समितिले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आन्दोलनमा खटिएका प्रहरीको विस्तृत विवरण दिन नमानेपछि बुधबार आयोगले स्पष्टीकरण सोधेको हो । फेरि पनि विवरण नदिए कारबाही गर्ने आयोगको चेतावनी छ ।
२३ र २४ भदौको आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको विस्तृत विवरण माग्दै आयोगले पत्राचार गरेकोमा महानिरीक्षक खापुङले जवानदेखि महानिरीक्षकसम्म सबै खटिएको जवाफ जवाफ पठाएका थिए । साथै, थप विवरण पठाउन उपत्यका प्रहरी कार्यालयलाई देखाएर पन्छिएपछि स्पष्टीकरण सोधिएको आयोगका एक अधिकारीले बताए ।
बयानमा बोलाउनका लागि आयोगले २३ गते बानेश्वर क्षेत्रको खटिएका तथा २३ गते धेरै क्षति भएका क्षेत्रमा खटिएका प्रहरीको विवरण मागेको थियो । जून विवरण प्रहरी प्रधान कार्यालयले पठाएको छैन ।
आयोगले फिल्डमा खटिएका प्रहरी, प्रहरीका उच्च अधिकारी हुँदै तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीसँग पनि बयान लिने तयारी गरिरहेको छ । खासगरी २३ गतेको आन्दोलनमा अत्याधिक बल प्रयोग गर्नेमाथि केन्द्रीत भएर आयोगले जाँचबुझ गर्न लागेको छ । स्रोतका अनुसार बिहीबारदेखि प्रहरीको बयान लिन लागिएको छ ।
