धनगढी – कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।
शनिवार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरूबिच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।
मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबिच विवाद हुँदा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।
स्थानीय प्रहरी अधिकारीका अनुसार घटनाबारे आधिकारिक रूपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताएका छन् ।
वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ती हानेर फुटाएको पनि कुनै पक्षले घटनाबारे औपचारिक रूपमा जानकारी नदिएको एक प्रहरी अधिकारीले बताए ।
राति अबेरसम्म सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका उनीहरू त्यहाँबाट निस्केर प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।