धनगढी: नेपालमा बाल अधिकार र त्यसको कार्यान्वयनको सवालबारे प्रतिवेदन तयार पारेर संयुक्त राष्ट्र संघलाई बुझाइने भएको छ। अबको एक महिनाभित्रमै उक्त प्रतिवेदन तयार पारेर संघलाई बुझाइने जनाइएको छ।
सो क्षेत्रमा कृयाशील संस्था सिजफका अध्यक्ष राजेश शर्माका अनुसार गैरसरकारी संस्था तथा नागरिक समाजले उक्त प्रतिवेदन बुझाउने तयारी गरेका छन्। बाल अधिकार महासन्धिको पुरक प्रतिवेदन तयार गर्ने क्रम जारी रहेको र एक महिना भित्रमा सो काम सम्पन्न हुने उनले बताए।
सोही विषयमा देशका सात ओटै प्रदेशमा छलफल समेत गरिएको छ। आज (बिहीवार) मात्रै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश स्तरको छलफल गरिएको थियो।
उक्त छलफलमा सुदूरपश्चिम प्रदेशमा बालबालिकाका सवालहरु, बाल अधिकारको कार्यान्वयनको अवस्था लगायतका विषयमा विमर्श गरिएको बताइएको छ।संयुक्त राष्ट्र संघलाई बुझाइने प्रतिवेदन तयार पार्न सिजफ, सिटिसी वर्ल्ड भिजन लगायतका विभिन्न गैरसरकारी संस्थाहरुले यस्ता छलफलका कार्यक्रमहरु गरिरहेका हुन्।
नेपाल सरकारले भने यसअघि नै प्रतिवेदन पेस गरिसकेको छ। हरेक ५ वर्षमा संयुक्त राष्ट्र संघमा यो प्रतिवेदन बुझाइन्छ।