बझाङ – जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपालमा हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या भएको छ।
गत बुधबार भएको हिमपातका कारण बाटो अबरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो। यातायातका साधनहरु नपुगेको साइपाल गाउँपलिकामा भेडा र खच्चरबाट खाद्यान्न आयात गरिन्छ।
हिमपातका कारण बाटो अबरुद्ध भएपछि भेडा र खच्चरहरु जान सकेका छैनन्।
साइपालको वडा नं १ देखि ५ सम्म हिमपातले बाटो अबरुद्ध भएपछि खाद्यान्न अभाव हुन थालेको निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए।
खाद्यान्न अभाव हुन नदिन ६ महिना पहिले काँडा बिक्री केन्द्रले ३ हजार क्वीन्टल खाद्यान्न ढुवानीको ठेक्का पाएको भएपनि ६ सय क्वीन्टल मात्रै ढुवानी गरिएको र मौज्जात खाद्यान्न कुनै पनि वडामा बाँकी नरहेको गाउँपालिकाले जनाएको छ।
सम्झौता अनुसार बाँकी २ हजार ४ सय क्वीन्टल खाद्यान्न ५ महिना भित्र ढुवानी गरिसक्नुपर्ने छ। यस विषयमा खाद्यान्न बिक्री केन्द्र लगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरि हुने चिन्ता बढेको धामीको भनाई छ।
खाद्यान्न अभाव हुन नदिन अबरुद्ध बाटो खोल्ने तयारी थालिएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर वोहराले जानकारी दिए। साइपाल गाउँपालिकाको लाग्नामा अत्यधिक हिमपात भएपछि बाटो अबरुद्ध भएको हो।