धनगढी – नागरिक बचाऔँ महाअभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाईँले धनगढीमा आफ्नो महाअभियानलाई साथ दिन अपिल गरेका छन् । पार्क मोडमा एक कार्यक्रमको आयोजना गर्दै उनले नेपालीको समस्या समाधान गर्न आफूले अभियान थालेको भन्दै त्यस अभियानलाई साथ दिन आग्रह गरेका हुन् ।
‘युवाहरू बेदेश जान थालेका छन् । अबको १० वर्षमा मुलुक खाली हुँदै छ । २० गते देखी थालेको आन्दोलनमा सरिक हुनुहोस्’उनले भने ।
दलीय राजनीतिले समाजलाई विभाजन गरेको उनको आरोप थियो । उनले सीमित व्यापारी र नेताका कारण मुलुक समस्यामा परेको बताए । प्रसाईँले त्यस विरुद्ध एक भएर उभिन समेत आग्रह गरे ।
‘कि तपाइहरू डोरी लिएर पेट्रोल लिएर तयार हुनुहोस् कि सामन्तीसँग लड्न तयार हुनुहोस्’ उनले भने ‘५५ जना व्यापारी र १० जना नेताको हातमा पैसा छ । दुबइमा भिल्ला किनेर राखेका छन् । हामी सबै मिलेर लडौँ नत्र बाच्ने छैनौ ।’
गरिब नेपालीहरूले सहकारीमा जम्मा गरेको पैसा लिएर सञ्चालन फरार रहेको भन्दै तिनलाई कारबाहीको माग समेत गरेका थिए । उनले यस्तै अवस्था रहेका धनगढीका जग्गा सामन्तको हातमा पुग्ने चेतावनी समेत दिए ।