काठमाडौँ – आसन्न राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि जम्मा ८८४ जना मतदाता रहेका छन् । संघीय संसद र प्रदेश सभा गरी ८८७ सदस्यको मताधिकार रहने भए पनि तीन सदस्य रिक्त रहँदा ८८४ जनाले मात्र मत दिन पाउने भएका हुन् ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु मतदाता रहने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभाका तीन जना सांसदले भने मत दिन नपाउने भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेका छन् ।
प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार संघीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्ने गरी मिति तय गरिसकेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिएको छ । फागुन १३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ देखि अपराह्न २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।