काठमाडौँ – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार सडकखण्डको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगन्जसम्मको सडक पनि अब चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताए।
मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए । उनले सो सडकखण्डमा भएका समस्याको समाधान भइसकेको र अब निर्वाध रूपमा सडक विस्तार गर्ने काम सुरु हुने प्रतिबद्धता जनाए ।
बिजुलीका पोल र सडकछेउमा रहेका मन्दिर अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम सुरु गर्ने तयारी रहेको बताए । उनले स्वयम्भूनाथका संरचनाहरू भने नभत्काईकन त्यहाँको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको पनि बताए । उनले चीन सरकासँग कलंकीदेखि महाराजगन्जसम्मको मात्रै सहमति भए पनि महाराजगन्जदेखि धोबीखोलासम्मको सडक विस्तार गरिदिन पनि आग्रह गरे ।
मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।