धनगढी – कैलालीमा माइक्रो बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज (बिहीवार) बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जोहारीले बताए।
घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।