मान सिह धामी, दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर – ६ उकुकाे सिरानमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक महलको भग्नावशेष पुनःनिमार्णको पर्खाइमा रहेको छ।
उकु महलकाे निर्माणकाे समयकाे बारेमा तथ्यपरक खाेज अनुसन्धान गरि पत्ता लगाउनु महत्वपूर्ण हुनेछ । अभयपालकाे डाेटीतिर राज्य स्थापना गरेकाे समय कमाउँकाे ईतिहास (बद्रिदत्त पाण्डे) मा सन १२७९ (सम्वत् १३३६) लाई उल्लेख गरेकाे पाइन्छ । अभयपालकाे डाेटी राज्यकाे स्थापना, सुदृढीकरण गर्दै अजयमेरु दरवार निर्माण गरेपछि उकुतिर राज्य बिस्तार गर्दै उकु महल निर्माण, अाठ खस राजाहरुलाई हराई सकेपछि मात्र अस्काेटकाे राज्य स्थापना गरेका हुन् । यसरी अस्काेट विजयकाे समय भन्दा अघि उकु महलकाे निर्माण भएकाे हाे ।
मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तर्गत पर्ने महत्वपूर्ण उक्त महल कुनै कारण भत्किन गइ भग्नाबशेषमा परिणत भएको किम्बदन्ती पाइन्छ। सुदुर पश्चचिम प्रदेश मध्ये कै एउटा ऐतिहासिक प्राचीन पुरातात्विक सम्पदाकाे रुपमा रहेको यो महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्नसकेमा दार्चुलाकै ऐतिहासिक उपलब्धि हुनुका साथै पर्यटकिय गन्तब्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ। उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरु छरिएका छन्।
देबीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरु, ढुगेंधारा, नाग, बसाह, सिहं, चक्रशिलासहित थरिथरिका आकृतिहरु बिभिन्न शिलामा कुदिएको स्पष्टै देख्न सकिन्छ। उकुमा रहेको उकु महलको भग्नावशेष प्रचारप्रसार र अनुसन्धान हुन नसक्दा ओझेलमा परेकाेछ । पूरानो दरबारको भग्नावशेषको रुपमा रहेको ठाउँको अध्ययन अन्वेशण नहुनुले उकु महल संकटमा परेकाे छ । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कत्युरी राजबंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरु रहेका छन् ।
मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कतुडी राजबंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको इतिहासका जानकार बताउँछन् ।
इतिहासबारे जानकारहरुका अनुसार उकु भगनाशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति सिलालेखहरु जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, सिलालेखहरु हेर्दा दरबार भित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइ छ । यो ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु, ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुले दर्शाइ रहेको कुराबाट प्रष्ट हुन्छ । दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गरेकाे छ । उकुको ऐतिहासिक सम्वन्ध सीमावर्ती भारतको अस्कोटसंग छ । अस्कोटको ईतिहास अनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभयपालले वरपरका विभिन्न अस्सीवटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाकरण गरेको इतिहासमा उल्लेख छ । निरै पालको ऐतिहासिक अभिलेख डोटी डडेल्धुरा, पिथौरागढको डिडिहाट, र अल्मोडामा पनि भेटिएको छ ।
नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरैपाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर ईतिहासका जानकारहरु बताउँछन् । यी सबै ऐतिहासिक काल क्रमहरु समान देखिएकोले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको जानकारहरु बताउँछन् । निरै पाललाइ उकु अस्कोटका राजा भनिएको छ ।
विभिन्न ठाँउहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएका संकेत गर्छ । जसको केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको पुरातात्विक महत्वलाई वेवास्ता गर्न सकिदैन । निरै पाललाई उकुका रजबार भारती पालका पुर्ववर्ति राजवार थिए भन्ने कालक्रमहरुले प्रष्ट्याएको छ । उकुको ईतिहास सम्वन्धी एउटा लेख अनुसार उकुकोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निर्माण गराएका थिए । नाग मल्ल डोटीका राजा थिए । यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधार मान्ने हो भन्ने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकाल भित्र बनेको अनुमान गरिन्छ । मन्दिर स्थापनाबारेको स्पष्ट तिथि मिति भेटिएकाे भने छैन । तर पाल वंशहरुको भरतीय शोधकर्ताहरुले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेका उल्लेख गरेका छन् ।
यसको प्रमाणको रुपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ । आचार्य शिव प्रशाद डवरालकाे उत्तराखण्डका ईतिहास भन्ने पुस्तकमा १०८० देखि १०९० ईसा पूर्वमा उकुको दरबार निर्माण भएको कुरा उल्लेख गरिएको छ । १६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु देखिन्छन् । तर भग्नावशेष महलको उत्खनन र खोजी नीति नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रमा यस्ता सयाैं प्रकारका मूर्तिहरु र शिलालेखहरु भेटिने गरेका छन् ।
स्राेत : – पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे ईतिहास, महेन्द्रनगर । – जिल्ला प्रशासन कार्यालय दार्चुला वेभ साइट । – गुगल र अन्य सामाजिक सञ्जाल ।