कैलालीको धनगढीमा आयोजना गर्ने तयारी भएको सूचना प्रबिधि मेला (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दूर सञ्चार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् । फागुन १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुन गइरहेको क्यान इन्फोटेकको दोस्रो संस्करणको तयारी करिब पूरा भएको क्यान इन्फोटेकका निर्देशक टेकराज पनेरुले जनाए ।
सञ्चार तथा प्रविधि क्षेत्रमा बिकास भएका नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको बिकासका लागि आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्तरक्रिया गर्ने उद्देश्यसाथ इन्फोटेक आयोजना हुन गइरहेको आयोजकले जनाएको छ ।
क्यान कैलालीका अध्यक्ष यज्ञराज ओझाका अनुसार इन्फोटेकमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सुविधा सम्पन्न मोबाइल बसमा बिभिन्न सेमीनारका बारेमा जानकारी गराइने छ । उनका अनुसार इन्फोटेकमा ७० वटा स्टलबाट बिभिन्न कम्पनी, संस्थाहरुलाई आमन्त्रण गरेर नयाँ प्रविधिको प्रदर्शनी गरिनेछ ।
सुदूरपश्चिमका नौ वटै जिल्लाबाट करिब एक लाखले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले गरेको छ । इन्फोटेकमा आइटी सेमीनार आयोजना गरिने पनि आयोजकले जनाएको छ । प्रदर्शन गर्ने संस्थालाई पुरस्कृत गरिने अध्यक्ष ओझाले बताए ।