काठमाडौं – सरकार निर्माणताका पुस १० गते बनेको सातदलीय गठबन्धन एवम् रीतले भताभुङ्ग भयो । सुरूमा संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छाडेको गठबन्धन पछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एमाले) ले पनि छाडे ।
त्यसो त अहिले आठदलीय गठबन्धन बनेको छ भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि सत्तारूढ बन्न आइपुगेको छ । राष्ट्रपतिको निर्वाचनकै कारण नयाँ गठबन्धन बन्यो, आठदलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
उसो त कतिपय कांग्रेस नेताहरूले राष्ट्रपतिको निर्वाचनअगावै सरकारमा जाने बताएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको एमालेसँग मिल्नसक्ने सन्दर्भबाट सशंकित भइ कांग्रेस नेताहरूले यस्तो बताएका हुन् । ‘आठदलीय गठबन्धन बनेपछि पनि एमालेले फरक रणनीति अपनाएको देखिन्छ । त्यसलाई चिर्न पनि कांग्रेस सरकारमा गइहाल्नुपर्छ भन्ने हो ।’
ती नेताले भने, ‘एमाले प्रमुख प्रतिपक्षमा गइसकेको छ । हामीले प्रधानमन्त्रीजीलाई समर्थन दिएकैछौँ । अब हामी सरकारमा जाने कुरामा दुईमत रहेन । कहिले जान्छौँ, त्योचाहिँ पार्टीले संस्थागत निर्णय गर्ला ।’
सभापति देउवानिकट एक नेता राष्ट्रपतिको निर्वाचनअघि नै कांग्रेस सरकारमा जाने बताउँछन् । ‘कांग्रेस सरकारमा जान्छ, राष्ट्रपतिको निर्वाचनअगावै जान्छ । यसबारेमा पार्टीमा छलफलसमेत सुरू भएको छ । अब को-को मन्त्री हुन्छन् भनेरचाहिँ मलाई नसोध्नूस्,’ उनले भनेका छन् ।
त्यसपछि ती नेताले थपे, ‘तर कांग्रेसले यसअघिको सरकारमा जाने नेताहरूलाई यसपटक मन्त्रीका रूपमा सरकारमा नपठाउन सक्छ ।’ ती नेताकाअनुसार यसपटक सरकारमा नयाँ नेताहरू जानेछन् ।
मन्त्रीका आकांक्षीहरूमा पूर्णबहादुर खड्का, संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला, सहमहामन्त्री किशोर सिंह राठोर, नेताहरू प्रदीप पौडेल, एनपी साउद वीरबहादुर बलायर, मोहन बस्नेत, रामहरि खतिवडालगायत छन् ।
यस्तै नेताहरू बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु, रामनाथ अधिकारी लगायतलाई पनि मन्त्रीका आकांक्षीका रूपमा हेरिएको छ ।