काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गरेका छन् । महासङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरिने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्रीसमक्ष महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायका बारेमा अवगत गराएको थियो । महासङ्घ अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्दै सरकारसँगको सहकार्यका लागि महासङ्घ सधैँ तयार रहेको प्रतिबद्धता जनाए ।
बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीहरूले ठुलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग असहज अवस्थामा रहेको अध्यक्ष सिंहले बताए । बिना बजेटका नयाँ योजना घोषणा गर्नुभन्दा चालु अवस्थामा रहेको आयोजना सम्पन्न गर्ने कामलाई राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो । आयोजनाहरू समयमै सम्पन्न नहुनुमा धेरै पक्ष जिम्मेवार हुँदा हुँदै एकोहोरो निर्माण व्यवसायीलाई मात्र दोषी देखाइएकोप्रति अध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री प्रचण्डले महासङ्घका सुझावहरूलाई आफूलाई महत्त्वका साथ लिने बताएका थिए ।