काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौँको तीनकुनेमा सांसदहरूलाई प्रशिक्षण दिइएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई ८ दलका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम आज दिउँसो साढे १ बजेदेखि जारी छ।
अभिमुखीकरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायत नेता पुगिसकेका छन्।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेका ८ दलले ती दलका सांसदहरूलाई अभिमुखीकरण दिएका हुन्। साथै पौडेलले पनि सांसदहरूलाई सम्बोधन गर्दै पत्र पठाएका छन्, जसमा राष्ट्रपति चुनावमा भोट दिन आग्रह गरिएको छ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।