काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- ५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिएका हुन् ।
एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिए । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उनले बताए ।
यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समय पछि बैङ्क नोट छाप्ने योजना रहेको छ । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिए।
अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिकरूपमा बाहिरिने १० अर्ब जोगिने सरकारको अपेक्षा छ ।