पोखरा – बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाह (पूर्णविक्रम)लाई उच्च अदालत पोखराले सफाइ दिएपछि पोखरामा विरोध प्रदर्शन भएको छ। सचेत नागरिकले उच्च अदालत पोखराको प्रवेशद्वारमा शुक्रबार दिउँसो १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्।
नाबालिग बलात्कार अभियोग लागेका शाहलाई आइतबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै अभियोग दावी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ । तनहुँ कारागारमा रहेका शाह सोमबार थुनामुक्त भइसके ।
शाहले सफाइ पाएसँगै अदालतको निर्णयको कतै स्वागत त कतै आलोचना भइरहेको छ । उच्च अदालतले यौन दुर्व्यवहारलाई सामान्यीकरण गरेको भन्दै शुक्रबार पोखरामा विरोध प्रर्दशन भएको हो। उच्च अदालत पोखराको प्रवेशद्वारमा केही युवायुवती भेला भएर शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।