काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् ।
बैंकहरुले चर्को ब्याज लिएको भन्दै व्यवसायीले शुक्रबार शुक्रबार बिहान धनगढी चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि करिब ४५ मिनेट सडक अवरोध गर्दै व्यवसायीहरू धर्नामा बसेका थिए ।
सुदूरपश्चिम उद्योग वाणिज्य महासङ्घ, कैलाली उद्योग वाणिज्य सङ्घ लगायतका व्यावसायिक सङ्घसंस्थाहरूले ७ प्रतिशत ब्याजदरमा लिएको ऋणमा हाल १५ प्रतिशत पुर्याइएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन गर्दै आएका छन् । बैंकहरुले वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरू सोमबारदेखि नियमितजसो आन्दोलनमा छन् ।
शुक्रबार व्यवसायीहरूको आन्दोलनमा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सागर ढकालले समेत ऐक्यबद्धता जनाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर ढकालले व्यवसायीका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।
उनीहरूले दैनिक बिहान ९ देखि ११ बजेसम्म व्यापार व्यवसाय बन्द गर्दै आएका छन् ।