काठमाडौं – मनकामना मन्दिरमा परेवा लैजान रोक लगाइएको छ। देशका विभिन्न ठाउँहरूबाट आउने श्रद्धालु भक्तजनहरूले ल्याएका परेवाहरूलाइ यहाँको वातावरण अनुकुल नहुने र अत्याधिक चिसोको कारण दिनानुदिन सैयौंको संख्यामा परेवाहरू मर्ने गरेकाले यस्तो आग्रह गरिएको हो।
मन्दिर व्यवस्थापन त्यसबाट हुनसक्ने दुर्गन्ध, फैलन सक्ने विविध रोग लगाएत अन्य क्षतिहरूलाई समेत मध्यनजर गर्दै हाललाई मनकामनामा परेवा लैजान पुर्णरूपमा निषेध गरिएको जनाएको छ।
मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ । मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहेका छ । मानिसहरू अहिले पनि यो भगवती मन्दिरलाई सम्झी आफूले चिताएको काम पूरा होस भनी भाकल गर्दछन् । साथै, वर्षेनी हजारौं दर्शनार्थीहरू आफ्नो भाकल चढाउन यो मन्दिरमा पुग्छन् ।
नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भाव जोडिएको यो मन्दिर गोरखा जिल्लाको पवित्र धार्मिक स्थल हो । दशैँको महाष्टमीका दिन यस मन्दिरमा विशेष पूजा गरिन्छ । यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशीर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा उल्लेख छ ।