काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज नयाँ दिल्ली प्रस्थान गरेका छन ।
भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहेका छन ।शुक्रबार दिउँसो ४ : ३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
शनिबार स्थानीय समय अनुसार बिहान १० : ४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ : १० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ : १५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।