कैलाली – टीकापुरको बस्ती नजिकै बच्चासहितको पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं। २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो।
रानीकुलाको इन्टेक नजिकै नहरको सडकमा पाटेबाघले आफ्नो बच्चालाई मुखमा बोकेर हिँडिरहेको भिडियो समेत स्थानीयले कैद गरेका छन्।
बच्चासहित बस्ती नजिकै पाटेबाघ देखिएपछि स्थानीय भने त्रसित बनेका छन् । बच्चा बोकेर हिँडेको पाटेबाघले कुनै पनि बेला आक्रमण गर्न सक्ने बताइन्छ। ‘उसले आफ्नो बच्चाको सुरक्षाका लागि आक्रमण गर्छ’ स्थानीय बलविर चौधरीले भने, ‘बच्चा सहितको बाघ निकै रिसाहा हुन्छ।’
कैलालीको पूर्वी भेगका बस्तीमा पछिल्ला वर्षहरुमा जंगली जनावरको प्रवेश बढ्न थालेको छ। टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न बस्तीमा बेलाबेलामा जंगली जनावरले मान्छेलाई आक्रमण समेत गर्ने गरेका छन्। जंगली जनावरको आक्रमणमा परेर कतिपयले ज्यान समेत गुमाएका छन्।