डडेल्धुराः डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले सरकारी सेवामा सुशासन कायम गर्ने बताएका छन्।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा सिडिओ न्यौपानेले यहाँका सरकारी कार्यालयमा सुशासन कायम गर्ने बताएका हुन्।
उनले जिल्लामा भइरहेका विकास निर्माणका कार्यमा समन्वय तथा सहजीकरण गर्ने बताए। यसका साथै उनले समयमै गुणस्तरीय काम सम्पन्न गर्नका लागि पहल थाल्ने बताए। भ्रष्टाचारमा शून्य सहनशीलता र जिल्लाको सुशासनका पक्षमा पनि आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए।
जिल्लाको शान्ति सुरक्षा कायम गराउनमा पनि आफ्नो योजना रहेको उनको भनाइ थियो। जिल्लामा आत्महत्याका घटना बढेको देखिएको र त्यसको न्यूनीकरणका लागि आफू कटिबद्ध भएर लाग्ने उनले बताए।
डडेल्धुराको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पुष्कर खड्का हाजिर भएका छन्। खड्का यसअघि बाजुराको सिडिओ थिए। कार्यक्रममा उनले बजार तथा मेडिकल अनुगमनलाई तीव्रता दिइने प्रतिबद्धता जनाए।