कैलाली : नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व सहमतिमै बनाउन अन्तिम प्रयास भईरहेको छ । ५ पदाधिकारीमा २३ जनाको उम्मेदवारी परेपछि सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न नेताहरू छलफलमा जुटेका छन् ।तर, केन्द्रले सहमतिमा नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि अहिले फेरि नेताहरू छलफलमा जुटेका हुन् ।
‘प्रदेशका नेताहरु पनि सर्वसम्मत गर्ने पक्षमा हुनुहुन्थ्यो । उम्मेदवारी धेरैको परेपछि करिब चुनाव हुने पक्का भइसकेको थियो । तर, केन्द्रीय नेतृत्वले सर्वसम्मतकै लागि फेरि पहल गर्ने भनेपछि अहिले अन्तिम प्रयास जारी छ’, प्रदेशका एक नेताले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उद्घाटन सत्रमा प्रदेशको नेतृत्व सर्वसम्मत चयन गर्न सुझाव दिएका थिए । ओलीले महासचिवलाई सर्वसम्मतको पहल गर्न जिम्मा लगाएर आफू सोही दिन काठमाडौ लागेका थिए । पोख्रेलले पनि जिल्लाका इन्चार्ज तथा अध्यक्षसँग छुट्टाछुट्टै भेटेर सुझाव लिएका थिए ।
उम्मेदवारी फिर्ता लिन साझ ७ः३० बजेसम्मको समय छ । त्यसभन्दा पहिले नै सहमतिको प्रयास गर्ने तयारी भइरहेको छ । प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ । उनीहरुबीच सहमतिको प्रयास भइरहेको जनाइएको छ । अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ ।