काठमाडौं : गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ ।
कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका भेटिएको हो ।
संविधान दिवसको दुई दिनअघि मात्रै कारागार प्रशासनमा दबाव दिएर रिगल ढकालको फाइल कैद मिनाहाका लागि झिकाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । ‘हतारहतार फाइल पठाइएको हो’ स्रोतले भन्यो, ‘उहाँले पुरानो मिति राखेर रिगलको फाइल मन्त्रिपरिषद्मा पेश गरेको देखिन्छ ।’
२९ भदौ बसेको मन्त्रिपरिषद् बैठकले कैद कट्टा सम्बन्धी निर्णय गरेको थियो । त्यसको दुई दिनपछि मात्रै रिगलको फाइल गृह प्रशासन हुँदै मन्त्रिपरिषद् अनि त्यहाँबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । स्रोतले भन्यो, ‘२९ भदौमा मन्त्रिपरिषद्को बैठकमा रिगलको फाइल पेशै भएको थिएन । पुरानो मिति राखेर पछि फाइल अनुमोदन गरियो ।’
गृहसचिव दिनेश भट्टराईले पठाएको लिखित जवाफमा रिगलको चालचलनबारे उल्लेख छैन । बरु उनलाई कैदमा राखेका कारण कारागारमा क्षमताभन्दा अत्यधिक कैदीबन्दी रहेको भन्ने उल्लेख छ ।
कारागार कार्यालय, दाङले १५ भदौ २०८० मा रिगलको माफी मिनाहाको फाइल कारागार व्यवस्था विभागमा पठाएको थियो । विभागका कर्मचारीहरूले जघन्य अपराधको फाइल माफी मिनाहाका लागि पेश गर्न उचित नहुने भनी निर्णय गर्न अस्वीकार गरेका थिए । तर गृहसचिवले फाइल अघि बढाउन दबाव दिएका थिए ।
नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानी हत्या गरेको आरोपमा जन्मकैद (२० वर्ष) को सजाय पाएका रिजल ८ वर्ष २५ दिन मात्रै कैद बसेर रिहा भएका हुन् ।