काठमाडौं : इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ। प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ।
हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मारिएका सैनिकको उमेर १९ देखि २४ वर्ष बीचको रहेको छ।
यही अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणयता मारिने इजरायली सैनिकको सङ्ख्या ३ सय २६ जना पुगेको छ। इजरायलमा सैनिकसहित झन्डै १४ सय जनाको ज्यान गएको छ भने इजरायलको आक्रमणमा परेर गाजामा झन्डै ९ हजार जना मारिएका छन्।
हमासको आक्रमणको बदला लिन इजरायलले गाजा क्षेत्र लगभग ध्वस्त बनाएको छ भने कडा नाकाबन्दी लगाएको छ। गाजामा टेलिफोन र इन्टरनेट सेवा पनि ठप्प भएको छ।