काठमाडौं – सरकारले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता गरेको छ।
गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले पीएसओबाहेक अगुवा पछुवा गाडीका सबै सुरक्षाकर्मी फिर्ता गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । निलम्बित भइसकेकाले प्रधानन्यायाधीशका रुपमा सुविधा नदिइएको एसएसपी कार्कीको भनाई छ ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट संसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।
तर, सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको थियो र उनलाई घरबाट बाहिर निस्कन दिइएन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको थियो ।