काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो चुनावी घोषणापत्र तयार गरिरहेको छ । यसपटकको निर्वाचनका लागि २०७४ कै घोषणापत्रलाई परिमार्जन गर्ने काम भइरहेको घोषणापत्र तयारी समितिमा रहेको लोसपाका एक नेताले बताए ।‘नयाँ कुरा केही छैन सबै पुरानै छन्, २०७४ को घोषणापत्रलाई परिमार्जन गर्ने काम भइरहेको छ,’ ती नेताले भने, ‘चुनावको लागि घोषणापत्र औपचारिकता मात्र हो । मतदाता समक्ष जाने एउटा आधार हो । घोषणापत्रको काम अन्तिम चरणमा छ । यो साताभित्र सार्वजनिक हुन्छ ।’ती नेताका अनुसार लोसपाका अध्यक्ष महन्थ ठाकुरले घोषणापत्रलाई अन्तिम रूप दिइसकेका छन् । त्यसलाई अब छपाइका लागि प्रेसमा पठाइने छ । छापेर आएपछि त्यसलाई सार्वजनिक गर्ने लोसपाले जनाएको छ ।
घोषणापत्र तयारी गर्ने जिम्मेवारी लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झालाई दिइएको छ । उनले केही नेताहरूको सहयोग लिएर त्यसलाई तयार गरी अध्यक्ष समक्ष बुझाएका थिए । लोसपा नेपालले ‘समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य र समतामूलक समाजको लक्ष्य लिएर अगाडी बढेको’ घोषणापत्रको मस्यौदामा उल्लेख छ ।
नेपालमा सबैको सम्मान, सबैको सहभागिता, सबैको विकास, पूर्ण स्वायत्त, आत्मनिर्भर, स्वशासित र सम्पन्न प्रदेशहरू भएका संघीय व्यवस्था हुनुपर्ने लोसपाको बटमलाईन रहेको छ । संघीय, संसद्, प्रदेशसभा जनसङ्ख्या तथा जनबाटोको आधारमा हुनुपर्ने कुरामा जोड दिँदै लोसपाले वर्ग, लिङ्ग, समुदाय एवं समान परिचय बोकेको अल्पसङ्ख्यक र बन्चितिकरणमा परेको सबै नेपालीको उपस्थिति सुनिश्चित गर्नका लागि मिश्रित निर्वाचन प्रणालीमा जोड दिएको छ ।
लोसपा कार्यकारी प्रधानमन्त्री तथा आलङ्कारिक राष्ट्रपतिको पक्षमा रहेको छ । कार्यकारी राष्ट्रपति भए देशमा स्थिरता आउने भए पनि लोसपाले श्रीलंका एवं अफ्रिकीका र ल्याटिन, अमेरिकाका अनेकौँ देशहरुमा जनताबाट निर्वाचित राष्ट्रपति तानाशाह भएका खतरनाक उदाहरणहरू पनि रहेको उल्लेख गरेको छ । जनताको सर्वोच्च निकाय संसद् हुने भएकाले यसलाई समावेशी बनाएर जनताको पक्षमा वकालत गर्नुपर्ने लोसपाले भनेको छ ।
संविधानमा रहेका प्रादेशिक सीमा, संघीयता कार्यान्वयनका व्यवस्थाहरू, संघ र प्रदेशको बीचमा गरिएको अधिकारको बाँडफाँट, नागरिकताको बारेमा राखिएका प्रावधान, भाषासँग जोडिएका विषयहरू, समावेशीका आधारलगायतका विषयमा लोसपाले असहमति जनाएको छ । यी विषयहरू संविधानमा संशोधन हुनुपर्ने कुरामा जोड दिएको छ ।