बझाङ: बझाङको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक ६ महिनादेखि विध्यालयमा अनुपस्थित भएका छन्। साइपाल गाउँपालिका– ४ धुलीस्थित धुली माध्यमिक विध्यालयका प्रधानाध्यापक नवराज जोशी भदौ महिनादेखि विद्यालयमा अनुपस्थित भएका हुन्।
प्रधानाध्यापक जोशीले आफू विरामी भएको भन्दै भदाै महिनामा निवेदन दिएर १२ दिनको विदा मागेको विद्यालयले जनाएको छ । सहायक प्रधानाध्यापक धनबहादुर विष्ट (भोटे)ले १२ दिनको विदा मागेका प्रधानाध्यापक जोशी हालसम्म पनि विध्यालयमा हाजिर नभएको बताए। उनले भने, ‘विध्यालयमा विरामी भएकाले उपचारका लागि १२ दिनको निवेदन मार्फत विदा माग्नुभएकाे हाे। फागुन सुरु हुन लाग्दा पनि उपस्थित हुनुभएको छैन।
विद्यालयको नीतिगत वृद्धि विकासमा समेत बाधा पुगेको छ।’ यता, व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बोहराले नियमित लामो समयदेखि प्रधानाध्यापक नै नआएपछि समस्या भइरहेको बताए। उनले भने, ‘फोन गरेपछी आउछु, आउछु मात्रै भन्नुहुन्छ। अभिभावकले प्रधानाध्यापक अहिले सम्म किन अनुपस्थित भए भनेर सोधेकोसोध्यै छन्। यसबारे पटकपटक गाउँपालिकामा जानकारी गराउँदा समेत कुनै पहल भएको छैन।’ यता प्रधानाध्यापक जोशीले भने यश विषयमा बुझ्न खोज्दा फोन उठाएका छैनन्।