पाेखरा- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ।
नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको हो।बिहान ११ बजे बैठक बसेर समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता एवम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताए।
‘समर्थन फिर्ता लिने काठमाडौँबाट खबर आयो। सबै साथी बैठक बस्नलाई तयार छन्। आज बैठक बस्छाैँ’, उनले भने। गण्डकी प्रदेशसभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ। माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ।
२७ सिटसहित गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस-माओवादीको सहज बहुमत पुग्छ। गण्डकीमा २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ। यी ३ दल मिलेर मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ।
गत पुस २५ गते गण्डकीमा खगराज अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो। सोही दिन नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री बने। १० माघमा एमालेका रोशनबहादुर गाहा र माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाएर गण्डकी प्रदेश सरकारलाई पूर्णता दिइएको थियो।