काठमाडौँ – विश्वका सबैभन्दा ठूूला तेल निर्यातक मुलुकहरूमध्येका धेरैले पेट्रोलियम पदार्थको उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् र त्योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
साउदी अरब, इराक तथा अन्य धेरै खाडी देशले दैनिक तेल आपूर्तिमा १० लाख ब्यारेलले कटौती गरेका छन् । त्यस्तै ओपेक प्लसको सदस्य मुलुक रुसले यो वर्षको अन्त्यसम्मका लागि तेल उत्पादनमा दैनिक ५ लाख ब्यारेल कटौती गर्नेछ ।पेट्रोलियम पदार्थका उत्पादक मुलुकहरूको उक्त निर्णयको अमेरिकाले भने आलोचना गरेको छ ।
ओपेक प्लस के हो?
ओपेक प्लस तेल निर्यातक मुलुकहरूको एक समूह हो । यसले कति कच्चा तेल विश्व बजारमा बिक्री गर्ने भन्ने निर्णय गर्नका लागि नियमित रूपमा बैठक बस्ने गर्दछ । यो समूहको केन्द्रमा १३ वटा सदस्य मुलुक रहेको ओपेक (Organization of the Oil Exporting Countries) रहेको छ । ओपेका मुख्यतः मध्यपूर्व तथा अफ्रिकी मुलुकहरू रहेका छन् । यो समूहको स्थापना पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति तथा मूल्य निर्धारण गर्ने उद्देश्यले कार्टेलको रूपमा सन् १९६० मा भएको थियो ।
हाल विश्व बजारको कच्चा तेलमध्ये ३० प्रतिशत ओपेक सम्बद्ध मुलुकहरूले उत्पादन गर्ने गर्दछन् । ओपेक भित्र पनि साउदी अरेबिया सबैभन्दा ठूलो तेल उत्पादक हो, जसले दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्दछ ।सन् २०१० मा विश्व बजारमा तेलको मूल्यमा तिव्र गिरावट आएको समयमा ओपेक सदस्यहरूले अन्य १० वटा तेल उत्पादक मुलुकहरूसँग हातेमालो गरेर ओपेक प्लसको स्थापना गरे । त्यसमध्येको एक सदस्य मुलुक रुस हो जसले पनि दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्ने गर्दछ । यसरी ओपेक प्लस सम्बद्ध मुलुकहरूले विश्व बजारको ४० प्रतिशत कच्चा तेल उत्पादन गर्दछन् ।
ओपेक प्लसले बजारमा पेट्रोलियम पदार्थको माग र आपूर्तिको सन्तुलन मिलाउने काम गर्दछ । तेलको माग घटेको बेलामा उसले आपूर्ति पनि घटाएर मूल्य बढाउने गर्दछ । साथै उसले कहिलेकाहीँ बजारमा धेरै तेल पठाएर मूल्य घटाउने पनि गर्दछ ।
ओपेक प्लसले तेल उत्पादनमा किन कटौती गरेको हो ?
यसअघि ओपेक प्लसले गत अक्टोबर २०२२ मा एक निर्णय गर्दै दैनिक २० लाख ब्यारेल कच्चा तेलको उत्पादनमा कटौती गरेको थियो । पछिल्लो पटक उसले दैनिक ११ लाख ६० हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तत्कालै ५ प्रतिशतको बढोत्तरी देखिएको छ ।
विश्लेषकहरूका अनुसार ओपेक प्लसको पछिल्लो निर्णय आश्चर्यजनक छ । किनकि साउदी अरबले केही समयअघि मात्रै यो वर्षका लागि आफ्नो कच्चा तेल उत्पादनको कोटा यथावत रहेको बताएको थियो । विश्व बजारमा तेलको माग पूर्वानुमान गरिएको जस्तो नहुने आकलनसँगै ओपेक प्लसले पूर्वसतर्कताका रूपमा पछिल्लो निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ ।
कोरोना महामारीसँगै यसअघि सन् २०२० मा ओपेकले तेलको उत्पादनमा दैनिक ९० लाख ब्यारेल कटौती गरेको थियो । महामारीका कारण विश्वभर नै लकडाउन भएर तेलका क्रेताहरू नहुँदा विश्व बजारमा कच्चा तेलको मूल्यमा चरम गिरावट आएको थियो ।
तर युक्रेनमा रुसी आक्रमण सुरु भएसँगै तेलको मूल्यमा वृद्धि भएर प्रति ब्यारेल १३० डलर पुग्यो । यद्यपि गत मार्चमा भने तेलको मूल्य पछिल्लो १५ महिना यताकै कम अर्थात् प्रतिब्यारेल ७० डलरसम्म झरेको छ ।
पछिल्लो पटक तेल उत्पादनमा कटौतीसँगै हुन थालेको यसको मूल्यवृद्धिले विश्वभर नै आम मानिसहरूको दैनिकीमा असर पार्नेछ । अमेरिकाले ओपेक प्लसको पछिल्लो कदमलाई सल्लाह दिन नसकिने खालको रहेको जनाएको छ ।
के हुँदैछ रुसी तेल ?
रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली मुलुकरुले समुद्रबाट रुसी तेलको आपूर्ति बन्द गरे । अमेरिका र बेलायतले भने रुसी तेलको खरिद पूर्ण रूपमा बन्द गरेका छन् ।
रुसले अहिले चीन र भारतमा बढी कच्चा तेल निर्यात गरिरहेको छ । यी मुलुकहरूले रुस विरुद्धको पश्चिमी नाकाबन्दीमा साथ दिएका छैनन् ।
यद्यपि जी सेभेन सम्बद्ध मुलुकहरूले भने रुसलाई तेल निर्यात गर्दा प्रति ब्यारेल ६० डलर तोकेका छन् । यसबाट रुसको तेलबाट उठ्ने आम्दानीमा कमी आएको छ । बिबिसी