काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ, औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ ।
विना जानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्दै उद्योगीहरू आन्दोलित भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारहरूसँगको भेटमा यस्तो सबै समस्या १०-१५ दिनमा समाधान हुने भन्दै उद्योगीहरूलाई धैर्य गर्न आग्रह गरेका छन् ।
यस वर्ष हिउँ/पानी नपरेर सुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको उनले बताए । धनुषाको ढल्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको र सप्तरीको रुपनी सबस्टेसनको ब्रेकर चुँडिएकोका कारण उद्योगमा विद्युत् आपूर्ति प्रभावित बन्न पुगेको उनले बताए ।
कटैया-कुशहवा १३२ केभी प्रसारणलाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समेत समस्या भएको कार्यकारी निर्देशक घिसिङले दाबी गरे ।
घिसिङकाअनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरूको जडित क्षमता करिब दुई सय मेगावाट भएता पनि हिउँ/पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भएर काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक-दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
अब १०/१५ दिनमा पूर्व मनसुन सुरु हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन वृद्धि हुनसक्ने उनले बताए । त्यसपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् जेठको पहिलो हप्ताबाट भारतर्फ निर्यात सुरु गर्नुपर्ने अवस्था आउने घिसिङको भनाइ छ ।