उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामी देखिन थालेपछि यसको निवारणमा चुनौती थपिएको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा स्थानीय औलाका बिरामी भेटिने क्रम रोकिएको छैन । यी प्रदेशका विभिन्न १४ वडा औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अध्ययनले देखाएको छ ।
उक्त प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा सङ्क्रमण देखिनु औलो निवारणका मुख्य चुनौती भएको एनटिडी तथा कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल बताउँछन ।
“उच्च पहाडी तथा हिमाली जिल्लामा औलोको बिरामी भेटिन्छन तर त्यहाँ खोज पड्ताल तथा विषादी प्रयोगमा कठिनाई छ”, उनि भन्छन । नेपालको औलो रणनीतिक योजना (सन् २०१४–२५) अनुसार सन् २०२२ मै स्थानीय औलोलाई शून्यमा झार्ने लक्ष्य थियो । स्थानीयस्तरमा औलो सङ्क्रमितको सङ्ख्या घट्दो छ तर अहिलेसम्म स्थानीय औलो शून्यमा झार्न चुनौती देखिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा ११ सय ८७ बिरामीमध्ये पाँच सय ५७ जना स्थानीय औलोका बिरामी थिए । यो सङ्ख्या आव २०७८/७९ सम्म आइपुग्दा ३८ जनामा झरेको छ ।
यस आव २०७९/८० को वैशाख ५ गतेसम्म तीन सय ७३ औलोका बिरामीमध्ये २४ स्थानीय बिरामी रहेका छन् । यो सङ्ख्या गर्मीयाम र वर्षायामसँगै बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुन बताउँछन ।
औलोबारे स्वास्थ्यकर्मीको चासो कम हुनुसमेत चुनौती भएको डा दाहालको भनाइ छ, “पछिल्लो समय औलो सकिएको भन्ने बुझाइ छ । स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा पर्दैन, उहाँहरुले औलोको लक्षणप्रति हेलचेक्र्याँई गरेको पाइन्छ ।”
उहाँका अनुसार स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा नपर्दा शङ्कास्पद औलोको परीक्षण कम हुने गरेको छ । यस्तै औलो रोग स्थानीय तहमा प्राथमिकतामा नपर्नु र आवश्यक स्रोतको अभाव चुनौतीका रुपमा खडा भएका छन् ।
यस्तै, औलो रोग निवारणमा आयातित औलो अर्को ठूलो चुनौती बनेको छ । सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने र मृत्यु शून्यमा झार्ने परिकल्पनामा आयातित औलो चुनौती बनेको हो । आयातित औलो सातै प्रदेशमा देखिएको छ । महाशाखाको तथ्याङ्कअनुसार आयातित औलोका बिरामीको सङ्ख्या आर्थिक वर्ष २०७४/७५ को कूल ११ सय ८७ बिरामीमध्ये आयातित छ सय ३०, आव २०७५/७६ मा एक हजार ६५ मध्ये छ सय २५, आव २०७६/७७ मा कूल छ सय १९ मध्ये पाँच सय १७ र आव २०७७/७८ मा चार सय ९१ मध्ये तीन सय ११ जना रहेका छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले औलो निवारणको लक्ष्य हासिल गर्न विभाग पूर्ण तयार रहेको बताउँछन ।
इपिडिमियोलोजीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० वैशाख ५ गतेसम्म तीन सय ७३ जना औलोका बिरामी भेटिएका छन् । जसमा २४ स्थानीय तथा तीन सय ४९ आयातित हुन् । आयातित औलोको सङ्ख्या उल्लेखयरुपमा खट्न नसक्नु अर्को चुनौती बनेको छ । भारतसँगको खुल्ला सिमानाका कारण आयातित औलोको जोखिम यथावत छ । भारतको महाराष्ट्र, गुजरात, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट धेरै औलो नेपाल भित्रिने गरेको छ ।
डा दाहालले आयातित औलो निवारणका लागि सीमा नाका तथा समुदायमा शङ्कास्पद बिरामीको रक्त परीक्षण तथा सोबारे सचेतना बढाउनुपर्ने बताए । औलो रोग सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । नेपालमा औलोका दुई परजीवि, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स परजीवी धेरै देखिएको छ । यीमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट हुने औलो बढी घातक हुने गरेको छ ।
सरकारी स्वास्थ्य संस्थामा औलोको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था छ । सरकारले हरेक वर्ष शूक्ष्म स्तरीकरणमार्फत जोखिम क्षेत्र निर्धारण, औषधिको प्रभाव, झुलको उपलब्धता तथा प्रयोग, औलोको बाहक लामखुट्टेको तथा रोग परिरहेका स्थानको अध्ययन गर्दै आएको छ ।