कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ स्थित सुनवरा नदीमा १७५ मिटर जैविक तटबन्ध निर्माण कार्य सुरू भएको छ। आज शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ को कार्यालयद्वारा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँगको सहकार्यमा सुनवरा नदीबाट हुने कटान रोकथाम तथा न्यूनिकरणका लागि १७५ मिटर जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गरिएको हो। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा र वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र चौधरीले ४ मिटर बाँसलाई जमिनमा पाइलिङ्ग गर्दै निर्माण कार्यको शुभारम्भ गर्नुभयो। तटबन्ध निर्माणको कामलाई निरन्तरता दिन हल्दुघाट सामूदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष चेतराज डंगौरालाई जिम्मा लगाइएको छ।
सो अवसरमा बोल्दै नगर प्रमुख महराले तटबन्ध निर्माण भएपछि यस क्षेत्रमा हुने कटान केही हदसम्म भएपनि नियन्त्रण हुने बताए। उनले भने, “विपद् व्यवस्थापन सबै पक्षको साँझा प्रयासले मात्र सम्भव हुन्छ।” उहाँले विपद्को क्षेत्रमा काम गर्ने (एनएनएसडब्ल्यूए) एमरेड परियोजनालगायत सबै संघसंस्थाहरुसँग समन्वय र सहकार्य गर्न नगरपालिका सदैब तत्पर रहेको बताए।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र चौधरीले पिपलाडी समूदायमा सुनवरा नदीले कटान गरिरहेको र भविष्यमा हुन सक्ने कटानीलाई न्यूनिकरण गर्न तटबन्ध निर्माणको काम सुरू गरिएको बताए। उनले भने, “आर्थिक वर्ष ०७९।८० मा छनोट भएको योजनाबमोजिम (एनएनएसडब्ल्यूए) एमरेड परियोजनासँगको सहकार्यमा १७५ मिटर जैविक तटबन्ध निर्माणको काम सुरू भएको हो।” वडा अध्यक्ष चौधरीले फेरी भने, “कुल रू ३ लाख १५ हजार ९२९ लागतमा तटबन्ध निर्णाण हुनेछ। जसमा वडा कार्यालयले रू २ लाख ५० हजार लगानी गर्नेछ भने, एनएनएसडब्ल्यूए-ले रू ५३ हजार ६६४ को योगदानसँगै प्राविधिक सहयोग गर्नेछ। बाँकी स्थानीय समूदायको जन श्रमदान रहने छ।”
त्यसैगरी स्याली नदीको तीव्र कटानी रोकथामका लागि शुक्लाफाटा नगरपालिका र एनएनएसडब्ल्यूए-को सहकार्यमा वडा नम्बर १ खजुवापट्टीमा पनि १५० मिटर जैविक तटबन्ध निर्माण गर्ने गरि सम्झौता भएको छ।
उता दोदा नदी कटानी रोकथामा तथा न्यूनिकरणका लागि पुनर्वास नगरपालिका र एनएनएसडब्ल्यूए-को सहकार्यमा वडा नम्बर ९ सितावस्तीमा ५०० मिटर जैविक तटबन्ध निर्माण गर्ने गरि सम्झौता भएको छ।
एनएनएसडब्ल्यूए-द्वारा सञ्चालित एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले तटबन्धको स्थायीत्व तथा बलियोपना बढाउन बाढीको पानी सहन गर्न सक्ने, छिट्टै हुर्किने तथा बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका जातका बिरूवाहरू लगाउनु पर्ने कुरामा जोड दिए। उनले भने, “तटबन्धमा लगाइएको बिरुवाबाट दोहोरो फाइदा लिनका लागि स्थानीय भू-बनोट र हावापानी सुहाउँदो जातका बिरुवाहरू रोप्नु पर्ने कुरामा परियोजनाले समूदायलाई प्राविधिक एवम आर्थिक सहयोग पनि गर्ने छ।”
जैविक तटबन्ध प्रति समूदायको विश्वास बढ्दै..
नदीको किनारमा बाढीले गर्न सक्ने जग्गा कटानीलाई रोक्न तथा हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस, पलाष्टिक बोरा, स्याउला, बालुवा र मानविय श्रोत) को उच्चतम प्रयोग गरेर निर्माण गरिएको तटबन्धलाई जैविक तटबन्ध भनिन्छ। आर्थिक रूपमा मितव्ययी तथा सामूदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले बाढी प्रभावित समुदायहरुमा जैविक तटबन्धलाई उत्तम विकल्पको रूपमा लिने गरिन्छ। स्थानीय स्रोत र साधनको उपयोग हुने र विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नपर्ने भएकोले पनि जैविक तटबन्धको महत्त्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको छ।
जैविक तटबन्धका फाईदाहरू…
भौतिक फाईदा…
जैविक तटबन्धले बाढीको पानीलाई मानव बस्तीमा पस्नबाट रोकेर समूदायलाई प्रत्यक्ष रूपमा बाढी प्रकोपको सम्भावित क्षतिबाट जोगाउँदछ। त्यसैगरी नदी छेउका खेती योग्य जमिनहरू कटानी हुनबाट जोगाउँदछ भने, बाढी आएको बेलामा पानीको गतीलाई नियन्त्रण गरेर मूलधार तिर फर्काउन पनि मद्दत गर्दछ।
प्राकृतिक फाईदा…
जैविक तटबन्धमा विभिन्न किसिमका बोटबिरुवा लगाइने भएकोले प्राकृतिक तथा जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुऱ्याउँदछ साथै भू-क्षय हुनबाट पनि जोगाउँदछ।
सामाजिक फाईदा…
समूदाय स्तरमा र समूदायकै परीश्रम र आशिंक लगानीमा जैविक तटबन्ध निर्माण गरिने भएकोले समूदायको हरेक तप्कालाई जोड्ने काम गर्दछ। समूदायको पूर्ण सहभागीता हुने भएकोले तटबन्धको रेखदेख तथा मर्मतसम्भार गर्न समूदायलाई अभिप्रेरित गराउँदछ। समूदायलाई भविष्यमा पनि स्थानीय विकासका उपयोगी काम गर्न उत्प्रेरित गराउँदछ।
आर्थिक फाईदा…
स्थानीय स्रोत तथा साधनको अधिकतम प्रयोग हुने भएकाले अतिरिक्त लगानी घटाउँदछ। बाढीबाट हुन सक्ने सम्भावित आर्थिक क्षतिको न्यूनीकरण गर्दछ र तटबन्धमा विभिन्न किसिमका जडिबुटी तथा डाले/भुँइ घाँस उत्पादन गरेर आर्थिक फाईदा लिन सकिन्छ।