काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
श्रीवास्तव नेतृत्वको टोलीले मंगलबार मन्त्रालयमा मन्त्री रिजालसँग भेटवार्ता गरेको हो ।
पेट्रोलियम तथा ग्याँस सम्बन्धी नेपाल–भारत संयुक्त कार्य समूहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन श्रीवास्तव नेतृत्वको टोली काठमाडौँ आएको छ ।
पेट्रोलियम तथा ग्याससम्बन्धी नेपाल-भारत संयुक्त कार्य समूहको बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन् ।
बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायतका अन्य विविध विषयहरूमा छलफल भएको बताइएको छ ।
मन्त्री रिजालसँगको भेटमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव श्रीवास्तवले बैठकमा छलफल भएका विषयहरूमा थप प्रकाश पारेकी थिइन् ।