धनगढी – मुक्त कमैया, बुक्रही र कमलरीको पुनः स्थापनाको माग गर्दै साइकल यात्रा गरिने भएको छ। मुक्त कमैया समाजले कैलाली र कञ्चनपुरमा वैशाख १४ देखि १७ गतेसम्म साइकल यात्रा गर्न लागेको हो।
मुक्त कमैया समाजले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीको टीकापुरको खड्क चोकबाट वैशाख १४ गते सुरु भएको साइकल यात्रा जानकी गाउँपालिकाको दुर्गाैली चोक, लम्की बजार हुँदै चाहानानगर पुग्ने बताएको छ। समाजले वैशाख १५ गते बरदागोरिया गाउँपालिकाको नौनिया बस्तीबाट सुरु भएको साइकल यात्रा सुखड, घोतरिन्या, जोशीपुर हुँदैन भजनी पुग्ने छ।
१६ गते जिल्लाको भजनीबाट सुरु भएको साइकल यात्रा कैलाली गाउँपालिकाको विपतपुर, हसुलिया हुँदै गौरीगंगा पुग्ने छ। वैशाख १७ गते गौरीगंगा नगरपालिकाको बढैपुरबाट सुरु भएको साइकल यात्रा लठैया, चौमाला हुँदै धनगढी उपमहानगरपालिकाको धुरझन्नासम्म आउने छ। साइकल यात्रासँग प्रत्येक ठाउँमा कोण सभाको समेत आयोजना गरिने छ।
कोण सभामा नगर प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिकाको सालघारी बस्तीबाट वैशाख १४ गते बिहीवार साइकल यात्रा सुरु हुने छ। सालघारीमा प्रदेश सभा सदस्यले साइकल यात्राको सुरुवात गर्ने कार्यक्रम तय भएको समाजले बताएको छ।
बिहीवार सालघारी बस्तीबाट सुरु भएको साइकल यात्रा वेदकोट नगरपालिकाको ओझाखाली, बिचफाँटा, धर्मपुर, नयाँ मुक्ती हुँदै छेला गाउँ पुग्ने छ। वैशाख १५ गते बेलडाँडी, बेलौरी, रामघाट, लालझाडी, खैरगढैया, चान्देव, बेलौरी हुँदै शोभातालसम्म पुग्ने छ।
वैशाख १६ गते लालझाडी, जाईजाला, शुक्लाफाँटा, आभ्राजाला, मरघटैया, वैशाखा, झलारी मुक्ती, नौखरी, कृष्णपुर हुँदै कंकचनाहरासम्म आउने छ।
वैशाख १७ गते कृष्णपुर, वांणी, बेलकुण्डी, दयामतपुर, किचाही, वस्तपुर, गर्जाला, गोदावरी हुँदै जित्तलपुरसम्म पुग्ने छ। मुक्त कमैया बस्तीहरुबाट साइकल यात्रा हुने भएको हो। उनीहरुले मुक्त कमैया र कमलरीको पुनः स्थापना, मुक्त कमैया र कमलरीका नीति तथा कार्यक्रममा परिमार्जन र जीविकोपार्जनको सुशिश्चितताको माग गर्दै संघर्षका कार्यक्रम गर्ने बताइएको छ।