कञ्चनपुर – कञ्चनपुरको दोदा नदि प्रभावित समूदायमा आधारभूत खोज तथा उद्धारसम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाको आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा दोदा जलाधार क्षेत्र प्रभावित समूदायहरूका लागि दुई इभेन्टमा गरि ८ दिने तालिम सम्पन्न भएको हो। जसअन्तर्गत वैशाख ३ गतेदेखि ६ गतेसम्म ४ दिन पहिलो इभेन्ट र वैशाख १० गतेदेखि १३ गतेसम्म ४ दिन दोस्रो इभेन्टको बुधबार समापन भएको छ। यो तालिमबाट ६२ जना सहभागिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
एनएनएसडब्ल्यूए-एमरेड परियोजनाका कार्यक्रम सयोजक महेश घिमिरेले तालिमको अन्तिम दिन आज दोदा नदीमा खोज तथा उद्धारसम्बन्धी नमूना अभ्यास समेत गरिएको जानकारी दिए।
कृत्रिम नमूना अभ्यासमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम समितिका प्रशिक्षक लक्ष्मण दत्त भट्ट र दीपराज पनेरुले विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासको सहजीकरण गरेका थिए। नमूना अभ्यासपछि समग्र तालिम र अभ्यासको समीक्षा गर्दै कार्यक्रमको समापन गरिएको हो।
तालिमको समापन कार्यक्रममा दोदा नदी प्रभावित समूदायका सामूदायिक खोज तथा उद्धारकर्मीहरू, इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक रामदत्त अवस्थी, प्रहरी हवल्दार तारा सिंह धामी र सशस्त्र प्रहरी हवल्दार बलबहादुर गुरूङ्गलगायतको सहभागिता रहेको थियो।
सामूदायिक उद्धारकर्मी हरदेव सिंह रानाले ४ दिने तालिमबाट आफूहरूले खोज तथा उद्धारका आधारभूत ज्ञान र सिप सिक्ने अवसर पाएको बताए। उनले भने, “यो तालिम हाम्रो लागि निकै फलदायी रह्यो। अब भविष्यमा हाम्रो समूदायमा कुनै पनि किसिमको विपद्को घटना घटेमा आत्मविश्वासका साथ खोज तथा उद्धार कार्यमा जुटेर हामी भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण गर्न सक्षम हुनेछौँ।”
पुनर्वास नगरपालिकाका नगर उप-प्रमुख भुलिया कुमारी रानाले विपद् पूर्वतयारीका लागि सबै निकायहरू बीच पारस्परिक सहयोग र समन्वय हुन जरूरी रहेको बताउँदै, दोदा प्रभावित समुदायहरूका लागि यो तालिमको आयोजना गरेकोमा आयोजक एनएनएसडब्ल्यूए–लाई धन्यवाद ज्ञापन गरिन्।
खोज तथा उद्धार तालिमको समापन सत्रमा बोल्दै पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख ओमनाथ ढकालले सामूदायिक खोज तथा उद्धारकर्मीहरू पालिकाको लागि सम्पत्ति भएको बताए। उनले भने, “पुनर्वास नगरपालिकामा विपद् पूर्व तयारीका लागि स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र (एलईओसी) सञ्चालनको प्रक्रियामा रहेको छ। तालिम प्राप्त तपाईँहरूलाई श्रोतको रूपमा रोष्टरमा समेत राखिनेछ र तपाईँहरूले आवश्यक परेको बेलामा स्थानीय सरकारलाई सहयोग गर्नु पर्नेछ।”
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले सामूदायिक उद्धारकर्मीहरूलाई धन्यवाद दिँदै तालिममा सिकेका ज्ञान र सिपअनुसार विपद्को समयमा संगठित भई सामूदायिक उद्धार कार्यमा खटिनका लागि आग्रह गरे। उनले भने, “समूदाय स्तरमा गठित समिति तथा कार्यदलहरूलाई पालिकामा अभिलेखिकरण गरी संस्थागत रूपमा परिचालन गरिनुपर्छ। साथै साझा युथहरूको फोरम तयार पारी पालिकामा हुने कुनै पनि विपद्को समयमा परिचालन गरिनुपर्छ।”
एनएनएसडब्ल्यूए-एमरेड परियोजनाका पंकज तिवारी र तिलक राज भट्टले सञ्चालन गरेको तालिमको समापन सत्रको अध्यक्षता (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले गरेका थिए। प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर उप-प्रमुख भुलिया कुमारी रानाले रहेकी थिइन् भने, अतिथिको रूपमा विपद् व्यवस्थापन शाखा प्रमुख ओमनाथ ढकाल उपस्थित रहेका थिए।