काठमाडौं सशस्त्र प्रहरी बलमा जेष्ठता नभई कार्यक्षमताका आधारमा बढुवा गर्ने गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन्। सशस्त्रमा डिआइजी बढुवाको गृहकार्य अघि बढीरहेका बेला यस्तो निर्देशनले संगठनमा हलचल देखिएको छ।
स्रोतका अनुसार विगतमा राजनीतिक चलखेलका आधारमा अघिल्लो वरियतामा बढुवा भएकाहरुलाई यसपटक नराख्न गृह मन्त्रालयबाट निर्देशन आएको छ । सोही आधारमा बढुवाको गृहकार्य अघि बढेको छ।
यही साता सशस्त्रमा डिआइजीको बढुवा हुने सम्भावना छ।
सशस्त्रमा कानुनतर्फ एक र प्रशासनतर्फ ६ डिआइजीको दरबन्दी रिक्त छ। जसमा सिंस २ का दुई दर्जन एसएसपीबिच प्रतिस्पर्धा छ। बढुवाका आकांक्षीहरुलाई भेटघाटमा गृहमन्त्री गुरुङले निषेध गरेका छन्। आवश्यक परे अन्तर्वार्ता लिने उनको भनाई छ।
उता सशस्त्रमा नयाँ आइजिपी चयनका लागि पनि गृहकार्य सुरु भइकसेको छ। आइजिपी राजु अर्यालको कार्यकाल यही १७ गते सकिदैछ । त्यसपछि नारायदत्त पौडेल, बंशी दाहाल र गणेश ठाडामगरबिच प्रतिस्पर्धा हुनेछ।