काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ।
त्यस क्रममा उसले आज बुधबार मधेश प्रदेशलाई ५ विकेटले हरायो। यो मधेशको चौथो हार हो।
मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो।
सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन्। उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। सम्झना खड्काले २१ बलमा ३ चौकासहित २१ रन बनाइन्।
रुबी पोदार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहे। अन्तिम २ बलमा एक रन चाहिएको अवस्थामा साउदले चौका हान्दै टिमलाई जिताइन्।
मधेशका लागि साक्षी यादव र कविता गौतमले समान २/२ विकेट लिए। पूजा महतोले १ विकेट लिइन्।
टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो।
उसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। उनले ३१ बलमा ४ चौका प्रहार गरिन्। साना प्रविनले १९ र रोजी कडारीले १० रन बनाइन्। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ४ विकेट लिइन्। जानकी थापा र कविता जोशीले समान १/१ विकेट लिइन्।
सुदूरपश्चिम यसअघि एपीएफसँग ९ विकेटले पराजित भएको थियो। यो उसको हालसम्मको एक मात्र हार हो। त्यसपछि सुदूरपश्चिममले लुम्बिनीलाई ९ विकेट, कर्णालीलाई ८१ रन र बागमतीलाई ६ विकेटले पराजित गरेको थियो।
मधेश बागमतीसँग २८ रन, एपीएफसँग १० विकेट र कोशीसँग ६० रनले पराजित भएको थियो। उसले गण्डकीलाई भने २७ रनले हराएको थियो।