Categories
मुख्य खबर राजनीति

सरकारले जेनजीसँग संविधानसँग बाझिने गरी गर्‍यो सहमति

काठमाडौं । आफ्नो विद्रोहलाई संस्थागत गर्नुपर्ने मागसहित जेनजीले बुझाएको मस्यौदामा सरकारले संविधान र कानुन बाझिने गरी सम्झौता गरेको छ ।

जेनजी प्रदर्शनलाई ‘जनआन्दोलन’को मागसहित गत कात्तिक २८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई फरक–फरक जेनजी समूहले नौबुँदे मस्यौदा बुझाएका थिए ।

सरकार र जेनजीबीचको सहमतिअनुसार, संविधान संशोधनका लागि उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिनेछ ।

सो आयोगद्वारा राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको पदावधि दुई पूर्ण कार्यकालमा सीमित गर्न सिफारिस गर्ने भनिएको छ ।

त्यस्तै, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उमेदवार हुन न्यूनतम उमेर २१ वर्ष राख्ने सहमति भएको छ ।

सरकारले गरेको सहमति यही बुँदा संविधानसँग बाझिएको छ । २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उमेदवार हुन पाउने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को सदस्य बन्न नेपालको संविधानको धारा (८७) मा स्पष्ट व्यवस्था गरिएको छ ।

संविधानको यो धाराअनुसार, प्रतिनिधिसभाका लागि २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका निर्वाचनका लागि ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ मा पनि उमेदवारबारे स्पष्ट व्यवस्था उल्लेख छ । कानुनको दफा २१ ले पनि निर्वाचनका लागि उमेदवार बन्न २५ वर्ष पूरा हुनुपर्ने प्रावधान राखेको छ। संविधान र कानुनका यी दुवै व्यवस्थालाई संशोधन गर्ने गरी सहमतिमा हस्ताक्षर भएको छ ।

सरकार र जेनजीबीचको सहमतिअनुसार, सरकारलाई सल्लाह, सुझाव र सहयोगका लागि जेनजी परिषद्को गठन गरिने भएको छ । सरकारमा जेनजीको प्रतिनिधित्व नभएको भन्दै अब विगतमा राजनीतिक दलहरूले उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत सरकारलाई काम लगाएझै जेनजी परिषद्ले सरकारमाथि नियन्त्रण गर्ने सम्भावना देखिएको छ ।

जेनजीका विभिन्न समूह र सरकारबीच भएको सहमतिको मुख्य बुँदा भनेको जेनजी आन्दोलनलाई जनआन्दोलन सोसरहको मान्यता दिनु हो । यस जनआन्दोलनमा भएको क्षतिप्रति खेद व्यक्त गर्दै भनेर सम्झौताको पृष्ठभूमि तयार पारिएको छ ।

त्यस्तै, २०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा विध्वंश मच्याउने, अपराधिक गतिविधिमा संलग्नहरूले उन्मुक्ति नपाउने गरी सहमति भएको छ । यसको आशय त्यसबेला सत्तापक्षबाट भएको दमनसँग जोडी तत्कालीन शासक र सुकमाणरहरूलाई पनि फौजदारी दायित्वभित्र पार्ने लक्ष्य सम्झौताको छ ।

‘जनआन्दोलन’को क्रममा भएको अत्यधिक बलप्रयोगको परिणामस्वरूप घटित गैरन्यायिक हत्या लगायतका मानव अधिकार उल्लंघनसम्बन्धी आरोपहरूको बिनाविभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता वहन गर्न सिफारिस गर्ने सहमति भएको छ ।

यस जनआन्दोलनको क्रममा अत्यधिक बलप्रयोगको परिणामस्वरूप भएका गैरन्यायिक हत्या तथा मानवअधिकार उल्लंघनका घटनामा संलग्न सबैलाई बिनाविभेद सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता वहन गर्न सिफारिस गर्ने सहमतिपत्रमा उल्लेख छ ।

२०८२ भदौ २३ र २४ गते जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको क्रममा तत्कालीन सरकारबाट भएको दमन र व्यापक हिंसाका घटनामा सहादत प्राप्त गर्नु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने लगायत सहिद परिवारको माग र भावनाको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था गरिनेछ ।

सहिद परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथोचित सम्बोधन गर्न सम्बन्धित सहिद परिवार र घाइतेसँगको परामर्श तथा समन्वयमा तत्काल एक उच्चस्तरीय कार्यदल गठन गरी अन्तरिम राहत, क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निःशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षा एवं अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेसन) समेतको परिपूरणीय व्यवस्था सुनिश्चित गरिनेछ ।

जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेको सामुहिक माग अनुरूप मुलुकमा सदाचार तथा सुशासन प्रवद्धन, भ्रष्ट्राचार निवारण तथा दण्डहीनता अन्त्य गर्न छुट्टै स्थायी प्रकृतिको आयोग गठन गर्ने सहमतिमा उल्लेख छ ।

जनआन्दोलनसँग सम्बन्धित राजनीतिक गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन नगरिने सहमतिमा उल्लेख छ ।

मस्यौदा बुझाउने समूहमा मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेनजी (सुधन गुरुङ समूह) र जेनजी फ्रन्ट (रक्षा बम समूह) लगायत थिए । यसअघि चरणवद्ध रुपमा जेनजी समूहहरुले सरकारसँग वार्ता गरेको थियो ।

सरकारलाई मस्यौदा बुझाउने जेनजी समूहले प्रदर्शनकारी पक्षबाट वरिष्ठ अधिवक्ता राजु चापागाईंले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, सरकारकै तर्फबाट डा. सूर्य ढुंगेलले सहजकर्ताकोभुमिका निर्वाह गरेका थिए । कानुनविद्का अनुसार, अध्यादेशमार्फत संविधान संशोधन गरेर सो उमेर राख्न सरकार सहमत भएको हो ।

पक्राउ परेकाहरूको विषयमा दुई तरिकाबाट सरकारले हेर्नुपर्ने गरी सहमति गरेको अलायन्सका संयोजक अमित खनालले बताए । “जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई पक्राउ नगर्ने गरी सहमति भएको हो । हामीले त्यही भनेरै स्ट्याण्ड लिएका हौँ,” उनले भने ।

खनालका अनुसार, जेनजी प्रदर्शनका क्रममा अपराधिक गतिविधि गर्ने र विशुद्ध जेनजी प्रदर्शनमा सहभागी भएकाहरूको हकमा दुई तरिकाबाट हेर्नुपर्ने बताए । उनी भन्छन्, “त्यसदिन एकथरी संगठिन भएर विध्वंश मच्चाउनकै लागि गएका थिए । जो कारबाहीको दायरामा आउनै पर्छ । अर्को थरी जेनजी हुन । जो अघिल्लो दिनको दमनबाट मारिएपछि उनीहरुको न्यायका लागि पुगेका थिए । आन्दोलनमा सिंहदरबार पुगेकै भरमा पक्राउ गरिहाल्नु हुँदैन ।”

प्रधानमन्त्रीलाई बुझाइएको मस्यौदामा बर्बर दमन, नरसंहार र जनसंहार भन्ने शब्दावली प्रयोग गरिएको थियो । यी शब्दावली हटाइएको छ । “बर्बर दमन, नरसंहार र जनसंहार शब्द सुन्दा पनि भयानक सुनिने भयो । त्यसैले ती शब्दहरुलाई सफ्ट बनाइएको छ,” उनले थपे ।

Categories
समाज

कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं । देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।

Categories
नेपाल प्रहरी मुख्य खबर

सशस्त्र प्रहरीका आइजिपीसँग जाँचबुझ आयोगको बयान, नेपाल प्रहरीका दुई आइजिपीलाई बोलाइयो


काठमाडौं: जेनजी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिएको छ। मंगलबार आयोगले २३ र २४ गतेको आन्दोलनमा शसस्त्र प्रहरी बलको भूमिकाबारे सोधपुछ गरेको हो।

आयोगले नेपाल प्रहरीका तत्कालिन आइजिपी र वर्तमान आइजिपीलाई पनि बयानमा बोलाएको छ। तत्कालिन आइजिपी चन्द्रकुबेर खापुङ र हालका आइजिपी दानबहादुर कार्कीलाई बोलाइएको छ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालिन आइजिपी हुतराज थापासँग बयान लिइसकेको छ।

Categories
खेलकुद मुख्य खबर

लगातार दोस्रो पटक सुदूरपश्चिम एनपिएलको फाइलनमा


काठमाडौं: सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।

त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको विराटनगरले १४.१ ओभरमा अलआउट हुँदा ७८ रन मात्र जोड्न सक्यो।

सुदूरपश्चिम पहिलो संकरणको आइपिएलमा पनि फाइनलमा पुगेको थियो। फाइनलमा उ जनकपुरसँग पराजित भएको थियो।

Categories
मुख्य खबर राजनीति

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव माहादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् ।

उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने विश्वास व्यक्त गरे ।

उनले सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्यांक कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैंगिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबैपक्षको भरोसा रहने उल्लेख गरे ।

Categories
मुख्य खबर राजनीति

सर्वाेच्चको आदेशले कुलमानलाई फसाद्, विद्युत् प्राधिकरणमै फर्किए हितेन्द्रदेव

काठमाडौं- सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

जेन–जी आन्दोलनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए ।

सरकारले शाक्यलाई पदबाट हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको निर्णयलाई बदर गर्दै अदालतले शाक्यलाई नै पूर्ववत् अवस्थामा काम गर्न दिन आदेश दिएको हो।

सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले संक्षिप्त आदेश जारी गर्दै सरकारको निर्णय गैरकानुनी र पूर्वाग्रही भएको ठहर गरेको हो।

गत असोजमा सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगको ‘ऊर्जा विशेषज्ञ सदस्य’ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले शाक्यलाई हटाएसँगै रिक्त भएको प्राधिकरणको कार्यकारी निर्देशक पदमा मनोज सिलवाललाई नियुक्त गरेको थियो। शाक्यले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले शाक्यलाई हटाउने सरकारको निर्णय प्रक्रिया नपुर्‍याइएको र बदनियतपूर्ण रहेको निष्कर्ष निकालेको छ। आदेशमा ‘नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१’ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौताविपरीत शाक्यलाई हटाइएको उल्लेख छ।

Categories
खेलकुद मुख्य खबर

आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।

यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो । यसैकारण लिगमा सातमध्ये ६ खेल जितेको भए पनि आज सुदूरपश्चिमलाई विराटनगरको त्यस्तै विस्फोटक ब्याटिङको डर छ ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्ने टिमले सोझै प्लेअफमा स्थान पक्का गर्नेछ । यता, हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

Categories
मुख्य खबर राजनीति

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन जाँचबुझ आयोगका काम कर्तव्यमा अदालतले हस्तक्षप गर्न नमिल्ने जवाफ दिएकी छन्। अधिवक्ता विपिन ढकालले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको काम कर्तव्य निस्पक्ष हुन नसक्ने भन्दै काम गर्न रोक लगाउन मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीसहितका विपक्षीसँग लिखित जवाफ मागेको थियो। जसको जवाफमा प्र्र्र्र्र्र्रधानमन्त्री कार्कीले कुनै प्रकारका आयोग गठन गर्ने, पुनर्गठन गर्ने वा आयोगका पदाधिकारी हटाउने, थपघट गर्ने वा विघटन गर्ने अधिकार नितान्त नेपाल सरकारमा निहित रहेको जवाफ दिएकी हुन्।

‘कार्यपालिकाको यस्तो नितान्त कार्यकारिणी अधिकार र नीतिगत विषयमा सम्मानित अदालतबाट हस्तक्षेप गर्नुपर्ने वा कुनै प्रकारको आदेश जारी गरिरहनु पर्ने होइन’, प्रधानमन्त्री कार्कीको जवाफमा भनिएको छ, ‘विपक्षीको रिट निवेदन खारेजभागी छ, खारेज गरी पाऊँ।’

जाँचबुझ आयोगका अध्यक्ष कार्की र सदस्य विज्ञानराज शर्माले जाँचबुझका विषयवस्तुबारे धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रही देखिएको आरोप निवेदकले लगाएका छन्। उनीहरूबाट निस्पक्ष जाँचबुझ हुन नसक्ने भएकाले काम गर्न रोक लगाउन माग गरेका हुन्।

कुनै पनि नागरिकले संविधानद्वारा प्रदत्त मौलिक हकको प्रयोग गरी अभिव्यक्त विचारलाई अन्यथा लिन नहुने जिकिर गर्दै प्रधानमन्त्री कार्कीले जाँचवुझ गर्न आयोग गठन नहुँदैको अवस्थामा एक स्वतन्त्र नागरिकको हैसियतमा व्यक्त गरेको विचारलाई आधार मानेर रिट दायर गर्नुको कुनै अर्थ नरहेको जवाफ दिएकी छन्।

‘जाँचवुझ आयोग गठन हुनुभन्दा अगाडि अभिव्यक्त भएको भनिएको त्यस्तो अप्रमाणित र अपुष्ट तथ्यको आधारमा काल्पनिक र भविष्यदर्शी माग दावी लिएर रिट दायर गर्न मिल्दैन’, जवाफमा भनिएको छ, ‘आयोगबाट प्रतिवेदन पेश भएपछि वा आयोगको गठन सम्बन्धी सूचनामा तोकिएको अवधि समाप्त भएपछि आयोग विघटन हुने समेत व्यवस्था रहेकोले सोही संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा नेपाल सरकारले मिति २०८२ सालको भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा घटेका घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरी जाँचबुझको काम कारबाही समेत भईरहेको छ।’

जाँचबुझ आयोगका अध्यक्षले आफू नियुक्त हुनु अगावै फेसबुकबाट अभिव्यक्त गरेको पूर्वधारणाले आयोगको काम कारबाही विश्वसनीय र निष्पक्ष हुन नसक्ने भनी गरिएको दाबी गलत र काल्पनिक भनिएको छ।

‘जाँचबुझ आयोग कुनै न्यायिक वा अर्धन्यायिक निर्णय गर्ने निकाय होइन, यसले तोकिएको विषयमा अध्ययन, अनुसन्धान गरी प्रतिवेदनसम्म तयार गर्ने हो र यसको बाध्यकारी प्रभाव पनि हुँदैन। जाँचवुझ आयोगमा कठोर रुपमा न्यायिक निस्पक्षता लागू हुँदैन भने छानबिन समिति न्यायिक निकाय होइनन्, त्यसैले कडा प्राकृतिक न्यायका नियमहरु लागू हुँदैनन्’, प्रधानमन्त्रीको जवाफमा भनिएको छ।

निवेदकले छानबिन रोक्ने र प्रतिवेदन सार्वजनिक हुन नदिने वदनियतले रिट दायर गरेको पनि जवाफमा उल्लेख छ।

Categories
मुख्य खबर समाचार

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

Categories
मुख्य खबर समाचार

धादिङमा ७ गाडी ठक्कर खाँदा २ को मृत्यु, ३३ जना घाइते 

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ। अन्य ३३ जना घाइते भएका छन्।

सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले थाहाखबरलाई जानकारी दिए।

काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन्। 

चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।