धनगढी: रिक्त रहेको मन्त्रालयमा मन्त्री सिफारिसलाई लिएर नागरिक रेशमलाल चौधरी संरक्षक रहेको पार्टी नागरिक उन्मुक्तिभित्र आन्तरिक विवाद चर्किएको छ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनुपर्ने सन्दर्भमा पार्टी अध्यक्ष एवं रेशमलालपत्नी रञ्जिता श्रेष्ठ र संसदीय दलबीच मतभेद देखिएको हो। रेशमलाल र रञ्जिताकै आपसी मतभेद त्यहाँ पनि प्रकट भएको बताइएको छ।
संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सांसद रामेश्वर चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका लागि सिफारिस गर्दै पत्र सार्वजनिक गरेका छन्। यो सिफारिस पार्टी अध्यक्ष श्रेष्ठको निर्देशनविपरीत भएको हो।
अध्यक्ष श्रेष्ठले बुधबार संसदीय दललाई कैलाश चौधरीलाई मन्त्री बनाउने निर्देशनात्मक पत्र पठाएकी थिइन्। उनले मुख्यमन्त्रीलाई समेत कैलाशको नाम सिफारिस गरेकी थिइन्। तर संसदीय दलको बहुमतले अध्यक्षको निर्देशन अस्वीकार गर्दै पृथक निर्णय लिएको हो।
स्रोतका अनुसार, अध्यक्षको पत्रपछि अबेर रातिसम्म बसेको संसदीय दलको बैठकले दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो। तर चौधरी प्रदेश सभाको विषयगत समितिको सभापति रहेकाले पछि हटेपछि रामेश्वर चौधरीको नाम अघि सारिएको हो।
यसअघि मंगलबार बसेको दलको बैठकले पार्टी केन्द्रलाई पत्र पठाउँदै मन्त्रीको नाम सिफारिस गर्न वा चयनको अधिकार दललाई दिन आग्रह गरेको थियो। तर अध्यक्ष श्रेष्ठले उक्त पत्रको जवाफस्वरूप आफ्नो पक्षका नेताको नाम सिफारिस गरेकी थिइन्।
हाल संसदीय दलमा अध्यक्ष श्रेष्ठ पक्ष अल्पमतमा र पार्टी संरक्षक रेशमलाल चौधरी पक्ष बहुमतमा रहेकोले नेतृत्वका बीच टकराव चुलिएको देखिएको छ। यसले सुदूरपश्चिममा पार्टीको सरकारमा सहभागिता नै अन्योलमा पर्ने आशंका समेत बढेको छ।
