धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरी धनगढीमा मृत अवस्थामा फेला परेका छन्।
भारतको मुम्बईबाट तीन वर्षपछि घर फर्किएका गिरी बिहीबार दिउँसो करिब ३ बजे डोके बजार पुगेका थिए। उनीसँगै आएका अन्य तीनजना साथीसहित डोके बजारस्थित कार्की होटलमा खाजा र मदिरा सेवन गरेको पारिवारिक स्रोतले जनाएको छ। खाजा खाइसकेपछि गिरी बेपत्ता भएका थिए।
शुक्रवार बिहानसम्म पनि घर नफर्किएपछि उनका आफन्तले खोजतलास थालेका थिए। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा फोटोसहित निवेदन दिइएको थियो।
गिरी शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित नाला नजिकैको हिलोमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिचान नखुलेपछि शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो। पछि आफन्तले शवको सनाखत गरेका हुन्। हाल पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ। मृतक गिरीका एक छोरा र एक छोरी छन्।