धनगढी: कैलालीको धनगढीस्थित कारागारका कैदीको मृत्यु भएको छ। हिजो (सोमबार) कैद भुक्तान गरिरहेका डडेल्धुराका हरिसिंह पालीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी बाल नरसिंह राणाले कैद भुक्तान गरिरहेका पालीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।
उनका अनुसार अस्ति प्रहरीले नियन्त्रणमा लिएकोमा कैलाली अदालतले उनलाई पहिले नै सजाय गरेको थियो। त्यसपछि फरार प्रतिवादी समात्ने क्रममा उनी समातिएका थिए।
उनलाई डडेल्धुराबाट समातेर कैलाली ल्याइएको थियो भने उनको कैद भुक्तान गरिरहेकै बेला मृत्यु भएको प्रहरीले जनाएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय पाली बैंकिङ्ग कसुरमा पक्राउ परेका थिए। प्रहरीका अनुसार पालीलाई २०७९ फागुन २९ गते कैलाली जिल्ला अदालतको फैसलाअनुसार १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकिएको थियो।
सो सजाय कार्यान्वयनका लागि उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। तर पक्राउको दुई दिनपछि कैलाली कारागारमा रहँदै उनको मृत्यु भएको हो।
यसबारे कैलाली प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उनी कारागारको शौचालयमा ढलेपछि अस्पताल लगिएको र अस्पतालमा मृत्यु भएको जनाएको छ।
यद्यपि मृतकका आफन्तले भने उनको मृत्युलाई हत्या भएको हुनसक्ने बताएका छन्। मृतकका काका पदम सिंह पालीका अनुसार, प्रहरी नायब निरीक्षक (सई) हरिजित नाथले घटनाअघि नै मृतकसँग पटक–पटक रकम माग्दै आएका थिए। उनले भने, “महेन्द्रनगरमा पनि हरिसिंहलाई दुई घण्टा हिरासतमा राखेर बार्गेनिङ गरिएको थियो।”
पदम सिंहका अनुसार असार २ गते ८५ हजार रुपैयाँ सई नाथकै खातामा ट्रान्सफर गरिएको थियो। “त्यसपछि डडेल्धुराबाट निजी गाडीमा ल्याएर कुटपिट गरिएको छ,” उनले भने, “शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो।”
अहिले हरिसिंहको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। शरीरमा कुटपिटको गहिरो निसान देखिएको भिडियो सार्वजनिक भएको छ। आफन्तहरूले भने जबसम्म सत्यतथ्य सार्वजनिक हुँदैन र दोषीमाथि कारबाही हुँदैन, शव नउठाउने अडान राखेका छन्। मृतकबारे सीसीटिभी फुटेज माग्दा प्रहरी प्रशासनले हालसम्म उपलब्ध नगराएको परिवारको आरोप छ।
पालीका एक श्रीमती र एक छोरा छन्। पीडित परिवार अहिले कानुनी लडाइँमा जाने तयारीमा छ।