धनगढी: स्थानीय सेवा ऐन माग्दै आन्दोलनमा उत्रिएका सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीलाई कार्य क्षेत्र फर्कन आग्रह गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ११ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनले उक्त ऐन जारी गर्ने बताउँदै कर्मचारीलाई कार्यक्षेत्र फर्किन आग्रह गरेका हुन्।
मुख्यमन्त्री शाहले विज्ञप्ति जारी गर्दै कर्मचारीको वृत्ति विकासमा परेको अप्ठेयारालाईसमेत मध्यनजर गरेर स्थानीय सेवा ऐन चाँडै जारी गर्ने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर कार्यक्षेत्रमा फर्कन आग्रह गरेका हुन्।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ।
प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत सभामुखलाई बुझाइसकेको छ। स्थानीय सेवा ऐन चाँडै जारी गराउन दबाबस्वरुप स्थानीय तहका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेर आन्दोलन गर्दै आएका छन्। उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि दैनिक धर्ना दिँदै आएका छन्।
