धनगढी: ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का लागि बैतडीको पाटन जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली हिजो डडेल्धुरामा थियो।
त्यहाँ टोलीको निकै ठूलो स्वागत गरिएको थियो भने सदरमुकाम अमरगढीमा चहलपहल निकै देखिन्थ्यो। त्यसका अलावा आज बिहान प्रचण्डले मर्निङ वाक कार्यक्रम गरेका छन् भने उनी अब पाटन प्रस्थान गर्ने तयारी छ।
त्यस अगाडि भने उनले सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलको नेता परिवर्तन गरिदिएका छन्। अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो। बिहीबार डडेल्धुराको एक सरकारी कार्यालयको गेस्ट हाउसमा बसेको बैठकले पुन संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरेको हो। माओवादीका सबै सांसदहरूको उपस्थितिमा संसदीय दलको नेता परिवर्तन गरिएको उपमहासचिव तथा प्रदेश इन्चार्ज पोखरेलले जानकारी दिए।
माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए। आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन्।
यस्तै दलको उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय भएको छैन।